आमा सम्झाउने ‘मातृचक्र’
म्याग्दी | कात्तिक ८, २०८१
म्याग्दी: सङ्घर्ष, माया र ममताको प्रतिमुर्ति आमा शब्द सबैलाई प्रिय लाग्छ । प्राणी जगत्मा आमाको स्थान सबैभन्दा माथि छ । आमा शब्द भावनासँग जोडिएको छ । आमाको बारेमा धेरै साहित्य लेखिएका छन् ।
मुस्ताङमा यस्तो अनौठो ठाउँ छ जहाँ ढुङ्गामा आमाको सम्मान र स्मृतिमा शब्द खर्चन, भावना व्यक्त गर्न पाइन्छ । त्यो स्थान हो, मुस्ताङको घरपझोङ गाउँपालिका–४ जोमसोमस्थित ‘मातृचक्र’ पर्खाल ।
“म कसरी हार मानौँ, मेरो अगाडि दुःखको पहाड भएता पनि मेरो सफलता कुरेर बसेकी छिन्, मेरी प्यारी आमा”, आमाको सम्मानमा मातृचक्र पर्खालको एउटा ढुङ्गामा म्याग्दीकी स्मृति मगरले लेख्नुभएको छ ।
सेतो रङ्ग लगाइएको गोलो चक्र आकारको पर्खालका ढुङ्गामा रातो अक्षरमा आमाप्रति सर्मपित भएर लेखिएका यी र यस्तै भावका शब्दावली देखिन्छन् । यस स्थललाई घरपझोङ गाउँपालिकाले पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न काम थालेको छ ।
घरपझोङ गाउँपालिकाका अध्यक्ष मोहनसिंह लालचनले ‘मातृचक्र’को अवधारणा नेपालमै नयाँ र अनौँठो भएकाले पर्यटकलाई आकर्षित गर्न सकिने बताउनुभयो ।
“जीवनका विभिन्न कालखण्ड र आमाका सङ्घर्षको कल्पना गर्दै पर्खालभित्र फन्को लगाइने भएकाले यसलाई मातृचक्र नामाकरण गरिएको हो”, उहाँले भन्नुभयो,“आमाको गर्भभित्र हुँदाको कल्पना गरेर पर्खाल वरपर फन्को लगाउन सकिन्छ ।”
यस्तो छ मातृचक्र
कोशी प्रदेशको धरानमा बाँसको रूखमा प्रेमका शब्द लेख्ने चलन छ । आमाको सम्मान र सम्झना गर्ने ठाउँ जोमसोमबाहेक कतै नभएको अध्यक्ष लालचनले बताउनुभयो ।
आठ वटा ढुङ्गे पर्खालको चक्र भएको यस ठाउँमा फन्को लगाउन करिब २० मिनेट लाग्छ । टाढाबाट हेर्दा मातृचक्रको पर्खाल विश्वमा कालीगण्डकी नदीमा मात्र पाइने शालिग्राम जस्तो पनि देखिन्छ ।
बीच भागमा हिड्न मिल्ने बाटो छाडेर बनाइएको मातृचक्र गोलो आकारको छ । नकुदेका ढुङ्गा चिनेर पर्खाल बनाइएको छ । पर्खालभित्र छिर्ने र निस्कने एउटै प्रवेशद्वार छ ।
एकठाउँबाट छिरेपछि सबै भाग घुमेर सोही ठाउँमा आई बाहिर निस्कन सकिन्छ । फन्को लगाउने क्रममा आमालाई दिएका दुःखको क्षमा माग्न, आमालाई धन्यवाद दिन र पुकार गर्न पाइन्छ । फन्को लगाएपछि फर्कने बेलामा ढुङ्गामा शब्द लेख्न पाईन्छ ।
“आमाप्रति सधैँ कृतज्ञ छु”, सचिन नाम गरेका झापाका व्यक्तिले ढुङ्गामा लेख्नुभएको छ । म्याग्दीका बिष्णु शर्माले अनौठो र आश्चार्य लागेर आमाको सम्मान र सम्झनाका लागि मातृचक्रमा पुगेको बताउनुभयो ।
करिब २० वर्षअघि एक जर्मन नागरिकले बनाएको गोलो आकारको पर्खाल यसअघि उपयोग र संरक्षण भएको थिएन । गाउँपालिकाले हालै पर्खालको भित्री भागमा रातो र बाहिरी भागमा सेतो रङ लगाएको छ । रङ्गरोगन गरेपछि मातृचक्र आकर्षक देखिएको छ ।
घरपझोङ गाउँपालिकाको कार्यालयदेखि पाँच मिनेट पैदलयात्रापछि जोमसोम बजारको छेउमा रहेको मातृचत्र पुगिन्छ । बेनी–जोमसोम–कोरला सडकबाट पनि मातृचक्र देखिन्छ ।
कृषि पर्यटनका लागि उद्यान
घरपझोङ गाउँपालिकाको नाममा रहेको जग्गामा अवस्थित मातृचक्र र वरपरको क्षेत्रमा पूर्वाधार निर्माण तथा पर्यटन प्रवर्द्धनको कार्यक्रमका लागि चालु आर्थिक वर्षमा रु ५० लाख विनियोजन भएको छ । मातृचक्र नजिकै मुस्ताङमा पाइने सबै प्रजातिका स्याउको बगैँचा स्थापनाको तयारी भइरहेको अध्यक्ष लालचनले बताउनुभयो ।
कृषि पर्यटनको अवधारणाअनुसार घरपझोङले स्याउ खेतीलाई पर्यटनसँग जोड्ने प्रयासमा विभिन्न कार्यक्रम गर्दै आएको छ ।
‘मिनी मुस्ताङ’को अवधारणाअनुसार उद्यान बनाउने उद्देश्यले अघिल्लो कार्यकालमा सो ठाउँमा पर्खाल लगाएर घेराबार गरिएको थियो । पछिल्लो कार्यकालका जनप्रतिनिधिले मिनि मुस्ताङको योजना सफल नभएकाले त्यस ठाउँमा स्याउ उद्यान बनाउने तयारी गरिएको जनाएका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उपसभापति पदमा अर्थमन्त्री स्वर्णिम वाग्ले निर्विरोध निर्वाचित भएका छन्। चितवनमा जारी पार्टीको प्रथम महाधिवेशनमा खुला पुरुषतर्फ उपसभापति पदमा उनीबाहेक अरूको उम्...
फिफा विश्वकप २०२६ मा उपाधि दाबेदार ब्राजिलले लगातार दोेस्रो जित निकालेको छ। तेस्रो जित निकाल्नेक्रमा उसले बिहीबार स्कटल्याण्डलाई ३–० ले हरायो। ब्राजिलले पहिलो खेलम मोरक्कोसँग १...
पोखरा पर्यटन परिषद्को आयोजनामा २१ औँ असारे रोपाइँ महोत्सव आगामी १४ गते हुने भएको छ । पोखरा महानगरपालिका ३० लेखनाथमा “पोखरा सबै मौसमका लागि” भन्ने मूल नाराका साथ कृषि पर्यटनको प्र...

